Clearcutting

कोरोना संक्रमण पश्चात निजगढ वनविनाश पुनर्विचार गर्ने की?

बाराको निजगढ वनबाट २४ लाख रूख कटानी गरी निजगढ विमानस्थल बनाउने प्रस्तावना छ। यस क्षेत्रकै सबैभन्दा जैविक विविधताले सुसज्जित क्षेत्र हो। पर्यावरणीय र आर्थिक दुबै पाटोले कमजोर परियोजनामा अब जनस्वास्थ्यको पाटो पनि आवश्यक रहेको छ।

राष्ट्रकै गेमचेञ्जरकहलिएको निजगढ विमानस्थलको परियोजनाका विषायमा सबैको कानमा परेकै होला। एकातिर, कोई निजगढ विमानस्थलको अपरिहार्यता दर्शाउन कुनै कसर छाड्दैनन्। अर्कातिर, २४ लाख रूख काटिने भनेको यो परियोजनाले त्यस क्षेत्र र सम्पूर्ण राष्ट्रलाई हुने वन र जैविक विविधताको क्षतिका विषयमा बोल्ने पनि छन्। निजगढ क्षेत्रमा हरेक वर्ष बाढीले स्थानीय वासीको जीवनमा असर पार्छ। वन मास्सिए पछि बाढीको समस्या बढाउला की भनेर चिन्ता लिनु पनि यथार्थपरक नै हो। त्यस माथि, निजगढ बिमानसथलका लागी गरीएको वातावरणीय प्रभाव मूल्यांकन (. आई. ) मा जलविद्युत परियोजनाका बुँदा देखेर अचम्मित नहुने पनि को होला?

यी सबै कुरालाई बीचमा राखेर अहिले विश्वलाई नै त्राहिमाम पारेको कोरोनानामक कहरले यस परियोजनामा अर्को पक्ष ल्याएको छ। अहिलेको सन्दर्भमा कोरोनाको सान्दर्भिकता हटाउन मिल्ने विषय शायद कमै होलान्। यस लेखमा निजगढ विमानस्थलको परियोजनालाई कोरोनाको दृष्टिकोणले हेरिएको छ। भविष्यमा कुनै महामारी भए निजगढका स्थानीय वासिन्दालाई विमानस्थलले गर्दा जनजीवनमा कस्तो प्रभाव पार्न सक्छ? के अहिलेको परिस्थितिले हामी भविष्यमा आउन सक्ने संकटका लागि केहि सिख लिन सक्छौं?

वन विनाश र कोरोना

संसारका धेरै वैज्ञानिक र विज्ञहरूले कोरोनाको र वुहान क्षेत्रमा भइरहेको वन विनाशको सम्बन्ध प्रष्टाउँदै गएका छन्। हाम्रो वातावरण एक जटिल सन्तुलनमा आधारित छ। जब हाम्रा कुनै क्रियाकलापले त्यस सन्तुलनमा आघात पुर्याउँछ, तब त्यस असन्तुलनले सबैमा समस्या निम्त्याउँछ। महामारी पनि यस्तै असन्तुलनको नतिजा हो।

वन विनाशका कारण वनमा रहेका सूक्षमजीवहरू वनका वातावरणवाट मानवको सम्पर्कमा आउँछन्। हुन त सामान्य रूघाखोकी ल्याउने सूक्ष्म जीवहरूसँग हामी निरन्तर सम्पर्कमा आइरहेका हुन्छौँ। यहि निरन्तर सम्पर्कका कारण हाम्रो शरीरको प्रतिरक्षक प्रणालीले यस्ता बिरामीसँग सामना गर्ने क्षमता विकास गरी सकेको छ। तर वनको वातावरणमा रहेका सूक्षम जीवसित हाम्रो सम्पर्क नभएका कारण हाम्रो शरिरले यीसित सामना गर्ने प्रतिरक्षा विकास गर्न सकेको हुन्न। अकस्मात तिनीहरूसित सम्पर्कमा आउँदा सूक्षमजीवका तुलनामा हाम्रो शरीर कमजोर हुन सक्छ, र हामीलाई संक्रमण हुने सम्भावना बढी हुन्छ। कोरोना, जिका, इबोला सबैमा यहि भएको अनुमान अहिले विज्ञले हर्न थालेका छन्।

निजगढ विमानस्थलका निम्ति २४ लाख रूख काट्ने प्रस्ताव राखिएको छ। २४ लाख रूख काट्दा कति यस्ता नविन सूक्षमजीवसँग सम्पर्कमा आउने सम्भावना होला त?

कोरोना किन संसार भर फैलियो त?

कोरोनाको कहर अहिले संसार भर फैलनको एक कारण विश्वव्यापीकरण र अन्तर्राष्ट्रिय व्यापारमा अधीन अर्थतन्त्र पनि हो। २ स्थान बीच जति मानवीय या वस्तुको आवतजावत हुन्छ, त्यति नै एक ठाउँमा भएको कुनै पनि संक्रमण दोस्रोमा फैलिने सम्भावना बढ्छ। यदि वुहान क्षेत्रबाट मानिसको वा वस्तुको आवतजावत हुँदै नभएको भए शायद कोरोना अहिले वुहानमा मात्र सीमित रहन्थियो होला। दुर्भाग्यवश, अहिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नजोडिएको कुनै २ स्थान कमै होलान्। यसले गर्दा कुनै नविन रोग फैलिएर महामारीको रूप लिन गाह्रो पर्दैन।

अझै, निजगढलाई त अन्तर्राष्ट्रिय हबबनाउने प्रस्ताव राखिएको छ। अर्थात नेपाल छिर्ने प्रायः सबै अन्तर्राष्ट्रिय यात्रु निजगढ मार्फत नेपाल छिर्ने कल्पना गरिएको छ। यसमा सफल भए यी यात्रुसँग कुनै संक्रमण नेपाल भित्रिए पनि पहिले निजगढलाई नै समात्छ। विमानस्थल वरीपरी सुपरसिटि बनाउन पनि सफल भए त झन् त्यस क्षेत्रको जनघनत्वले गर्दा त्यहाँ संक्रमण फैलन बेर पनि लाग्दैन।

यस पाली संक्रमण चीनबाट शुरू भएका कारण चीनले स्वयं वुहानवाट हुने सबै आवतजावतमा रोक लगायो। यसले गर्दा धेरै समयसम्म कोरोना चीनमै सीमित रह्यो। तर चीनको सट्टा अलि कम सतर्कता अपनाउने राष्ट्रमा कुनै संक्रमण शुरू भयो भने? अझै कति राष्ट्र यसता छन् जहाँ नेपालको तुलनामा संक्रमण धेरै बढी भए पनि, नेपालले जति पनि लकडाउन र कर्फ्यू लागेको छैन। ब्राजिलका राष्ट्रपतिले कोरोनालाई केवल एक कल्पना भन्दै नागरिकलाई रोजगारलाई निरन्तरता दिने निर्देश दिएका छन्। जापानमा होटलहरूले अझै पनि आफ्नो नियमित व्यवसायलाई निरन्तरता दिई रहेका छन्। अमेरिकाका राष्ट्रपतिले कोरोनाको तुलना रुघाखोकीसँग गर्दै व्यवसाय बन्द गर्न आवश्यक नरहेको संकेत दिएका छन्। के यस्ता राष्ट्रबाट कुनै संक्रमण शुरू भए त्यस क्षेत्रबाट आवतजावत रोक्थिछ होला त? ब्राजिलसित नेपालको घनिष्ट सम्बन्ध नभए पनि जापान र आमेरिकासित त यात्रु तथा सामग्रीको ओहोरदोहोर भइ रहेको हुन्छ।

आर्थिक पक्षका कुरा

निजगढ विमानस्थल र त्यस वरिपरि सुपरसिटि बनाएर पूरै क्षेत्रको आर्थिक वृद्धि गराउने सपना धेरैले देखेका छन्। यो आर्थिक वृद्धि हुन्छहुँदैन भनेर भविष्यले मात्र देखाउन सक्छ। अहिले त केवल अनुमान लगाउन सकिन्छ। मानिलिउँ यो आर्थिक वृद्धि हुन सफल भयो। तर, भविष्यमा यस्तो महामारी आए त्यस समयमा यो आर्थिक वृद्धिले कति साहरा दिन्छ त?

नेपालमा विगत ५ वर्षमै महाभूकम्प, नाकाबन्दी, महामारी भोगी सकेका छौँ। त्यस माथि हरेक वर्ष विभिन्न क्षेत्रमा बाढी र पहिरोले पनि जनजीवन अस्तव्यस्त पारेकै हुन्छ। भविष्यमा संकट कुन रूपमा आउँछ भनेर भन्न सकिन्न। यस्तो समयमा कुनै पनि क्षेत्रबाट आयातनिर्यात रोकिने सम्भावना पनि रहिरहन्छ। यदि खाद्यान्न पनि आउने बाटो नभए विमानस्थलको ठूलो रचना हेरेर पेट भरिन्छ त? विमानस्थल निर्माण साथै खोला बगेर सिचाइँ गर्ने बाटो पनि बन्द होला। सुपरसिटि निर्माणको क्रममा खेत मास्दै ठूला भवन बनाइएला। के त्यस पछि विमानस्थलको कन्क्रिटमा केहि उब्जनी होला त?

निजगढ विमानस्थलका कारण केहि आर्थिक वृद्धि भइहाले पनि त्यो पराधीनतामा आधारित हुन्छ। यस अर्थतन्त्रमा संलग्नित व्यक्ति ईन्धनको मूल्य, विदेशी यात्रुको नेपालप्रतिको चासो जस्ता क्षणिक कारकहरूससमा दिनचर्याका लागि निर्भर रहन्छन्। संकटकालको समयमा जब अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत हुने सबै विमान रोकिन्छन्, तब त्यो आर्थिक वृद्धि कहाँ हराउँछ?

अब के गर्ने?

कुनै पनि योजना बनाउने वेला केवल सकारात्मक सम्भावना कल्पना गर्ने मानवीय प्रवृत्ति हो। तर के भविष्यमा सबै कुरा आफूले सोचे जस्तो मात्र होला त? वुहानका नागरिकले कहाँ कुनै दिन यस्तो महामारीको सामना गर्नु पर्छ भनेर सोचेका थिए होला त? नेपालीहरूले पनि ५ बर्ष अगाडिसम्म भूकम्प आउने सम्भावना मध्यनजर गरेर घर निर्माण गरेका भए शायद महंगा लगानीमा निर्मित भवनहरू भत्किन्न थए होला।

यस्ता अनेकौं उदाहरण छन्, जसले हामीलाई नकारात्मक सम्भावना पनि कल्पना गर्न बाध्य बनाउँछ। यस्ता हरेक सम्भावना निरिक्षण गरेर मात्र निर्णय लिनु बुद्धिमानी हुन्छ। निजगढ विमानस्थल निर्माण भए सबै भन्दा बढी जोखिम त्यहाँ कै स्थानीय वासिन्दालाई हुन्छ। यस समयमा त्यस्ता जोखिमको अवलोकन गर्नु नै तिनीहरू प्रति नेपाल र नेपाली नागरिकको कर्तव्य रहेको छ।


चित्रित छवि: अमेरिकाको ओरेगनमा भएको वन विनाश

One thought on “कोरोना संक्रमण पश्चात निजगढ वनविनाश पुनर्विचार गर्ने की?”

  1. Hello just wanted to give you a quick heads up.

    The text in your post seem to be running off the screen in Internet explorer.

    I’m not sure if this is a formatting issue or something to do with
    web browser compatibility but I thought I’d post to let you know.
    The design look great though! Hope you get the issue resolved soon. Kudos

Leave a Reply

Your email address will not be published. Required fields are marked *